ब्याजदर बढाउन पाउनुपर्ने माग सहित सहकारी सञ्चालक आन्दोलनमा

फागुन १०: आफूहरूले पनि ब्याजदर बढाउन पाउनुपर्ने माग राखेर सहकारी सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् ।

मंगलबार सहकारी सञ्चालकहरूले बैंक तथा वित्तीय संस्थाहरूले जस्तै आफूहरूले ब्याजदर बढाउन पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाबस्वरूप सहकारी विभागलाई ध्यानाकर्षण गराउनका लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारि दिएका छन ।

पछिल्लो समय सहकारीहरूमा चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनका लागि ब्याजदर बढाउन पाउनुपर्ने महासंघले माग गरेको छ । वाणिज्य बैंकहरूले अस्वभाविक रूप्मा ब्याजदर वृद्धि गर्नाले सहकारीहरूमा असर परेको ढकालले बताए ।

“ब्याजदरको विषयमा एक किसिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी बचत तथा ऋण सहकारी संघका साथीहरूसहित उपस्थित भएका छौँ,” उनले भने । वरिष्ठ उपाध्यक्ष ढकालले सहकारीहरूले आफ्ना सदस्यहरूबाट बचत संकलन गरेर १० लाख सदस्यहरूलाई सेवा दिइरहेको बताए ।

सहकारी क्षेत्रमा प्रत्यक्ष ८० हजारभन्दा बढीले रोजगार पाइरहेको बताउँदै उनले महासंघका माग तत्काल सम्बोधन गर्न माग गरेका छन् ।