”कलकत्ते काइँयो केश मेरो बाँगो” गीतका गायक लामाको ६६ वर्षमा निधन

फागुन  ११:  कलाकार जयनन्द लामाको निधन भएको छ ।

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाको बुधबार बिहान २ बजे निधन भएको ।

श्रोतको अनुसार गाडीबाट ‌ओर्लेने क्रममा लडेर उनको निधन भएको बताइएको छ । संगीत क्षेत्रमा निकै लोकप्रिय नाम बनाएको लोकगायक जयनन्द लामा पछिल्लो समयमा चलचित्र क्षेत्रमा क्रियाशिल देखिएका थिए ।

लामाले नेपाली सांगेतिक क्षेत्रमा देखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका थिए । दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका सिन्धुपाल्चोकका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई सय बढी गीत गाएका छन् भने फिल्म निर्माण, निर्देशन र अभिनय पनि गर्दै आएका छन्।

२०२७ सालबाट लोकगीत गाउन शुरू गरी पछिल्ला केही वर्षयता डिमान्डेड अभिनेताका रूपमा छाउँदै आएका लामाका मुलाको चाना उही चाना, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, कलकत्ते काइँयो केश मेरो बाँगो, लौन हजुर के गरौँ नक्कलीलाई पातलीलाई कसरी बे गरुँ, चुईं चुईं चुइँकने जुत्ता, केको साँचो डल्ली रेशम फलामको साँचो, पानको पात, सलल पानी यही बस्यो बानी आँखैमा गाँजलु काखैमा मादलुजस्ता दर्जनौं लोकगीत अहिले पनि उत्तिकै लोकप्रिय छन्।