प्रधानमन्त्री देउवाद्वारा गायक लामाप्रति श्रद्धाञ्जली, पोष्टमाटम गर्न शव अस्पतालमा

फागुन ११ः प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

बुधबार उनले सामाजिक सञ्जालमार्फत् उनको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । ‘कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गितसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘दिवङ्गत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

भक्तपुरको मध्यपुरथिमी नगरपालिका(१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि ६६ वर्षीय लामा बुधबार बिहान मृत फेला परेका थिए।
प्रहरीका अनुसार कलाकार लामा मंगलबार साँझ ७ बजे मिटिङमा सहभागी हुन भनेर बौद्ध गएका थिए।

राति बौद्धबाट फर्किएका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारि दिएका छन।

बिहान ७ बजेर ५ मिनेटमा आफन्तले हेर्दा बा ३ च ७७४१ नं को मारूती सुजुकी कारमा एउटा खुट्टा गाडीमा र शरीर घोप्टो परि टाउको भुईमा जोतिएको अवस्थामा मृत फेला परेका हुन्।

प्रहरीले शवको पोष्टमार्टम गर्न दुवाकोटस्थित केएमसी अस्पताल पठाएको छ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले‍ पाँच दशकअघि गायन यात्रा शुरू गरेका थिए।

एक सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका लामाले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए। पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए।