सरकारको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक आइतबार लाई सर्यो

फागुन १३: प्रतिनिधि सभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ।

सरकारको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले आग्रह गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गरेका हुन्।

अब अर्को बैठक आगामी आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले जानकारी दिए। नेपाली कांग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मा सैद्धान्तिक छलफलपछि स्वीकृतिका लागि संसदमा निर्णयार्थ पेस नहुने सुनिश्चितता खोजेको छ।

प्रतिनिधि सभाको प्रक्रिया अनुसार अहिले टेबल भएको एमसिसीमा पहिला सैद्धान्तिक छलफल हुन्छ। जसमा एमसिसीका सिद्धान्त तथा सम्झौता ठिक रबेठिक भएको विषयमा छलफल हुन्छ।

छलफलमा उठेका प्रश्नमा अर्थमन्त्री वा सरकारका कुनै मन्त्रीले जवाफ दिनेछन्। त्यसपछि सभामुखले सैद्धान्तिक स्वीकृतिका लागि निर्णयार्थ पेस गर्छन्। सभामुखले स्वीकृतिका लागि पेस गर्दा सामान्यतया ध्वनी मत गराउँछन्।

सामान्यतया संसदमा सत्तापक्षको बहुमत हुन्छ। त्यसैले सैद्धान्तिक छलफलमा सामान्यतया कुनै पनि विषय अस्वीकृत हुँदैन। तर माओवादी केन्द्रले सैद्धान्तिक छलफलमै मत विभाजन माग्ने तयारी गरेको थाहा पाएपछि नेपाली कांग्रेस झस्किएको हो।