विराटनगर कार्यालयमा राष्ट्र बैंकले पनि नोट जलाउने

फागुन १३: नेपाल राष्ट्र बैंकले विराटनगर कार्यालयमा पनि झुत्रा बैंक नोट जलाउने भएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले विराटनगर कार्यालयमा आज (शुक्रबार) बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) उद्घाटन गरेका हुन् । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यसाथ सिस्टम सञ्‍चालनमा ल्याइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बीएसबीएस उद्घाटन गर्दै गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा यो महत्वपूर्ण उपलब्धि रहेको धारणा राखे । ​बीएसबीएस मार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको उल्लेख गर्दै अधिकारीले नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत दिए ।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बीएसबीएसको सञ्चालन प्रक्रियाबारे जानकारी दिए। सो अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरङका प्रमुख परशुराम नेपालले बीएसबीएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे ।

केन्द्रीय बैंकले यसअघि चलन चल्ति निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गर्ने गरेको थियो । केही समययता भने बीएसबीएस मेसिन प्रयोग गरी नोटलाई स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गर्न थालेको छ । बीएसबीएस मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ ।

उक्त मेसिनमा दुई वटा खण्ड रहन्छन् । पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ । उक्त मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्र्याउने क्षमता राख्छ । यस्तो टुक्राको औसत आकार ६ गुणा ६ मिलिमिटर हुन्छ।