प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर मैले अमेरिकालाई पत्र लेखेको छैनः खनाल

फागुन १३ः नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू प्रधानमन्त्री हुँदा एमसीसी चाहियो भनेर अमेरिकालाई पत्र नलेखेको दाबी गर्नुभएको छ ।

आज शुक्रवार नेकपा (एस) सम्बद्ध जनसङ्गठनद्वारा आयोजित अमेरिकी सहयोग एमसीसीविरुद्ध खबरदारी सभामा बोल्दै नेता खनालले यस्तो बताउनुभएको हो । उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अहिले प्रतिगामी शक्तिहरूले एमसीसी चाहियो भनेर झलनाथ खनालले भनेको आरोप लगाइरहेको भन्दै त्यो सरासर झुटो भएको बताउनुभयो ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले आज पोखरामा आयोजित एक सभालाई सम्बोधन गर्दै झलनाथ खनालको प्रधानमन्त्री कार्यकालमा एमसीसी चाहियो भनेर पत्र लेखिएको बताउनुभएको थियो । नेता खनालले आफ्नो कार्यकालमा एमसीसीसँग कुनै कुरामा पत्र लेखेको प्रतिवेदनहरू लिएर आउन पनि चुनौती दिनुभयो ।

उहाँले एमसीसीलाई पत्र लेख्ने कुरा डा। बाबुराम भट्टराई प्रधानमन्त्री बनेदेखि सुरु भएको र यो कुरा दिउँसोको घाम जत्तिकै छर्लङ्ग रहेको बताउनुभयो । नेता खनालले अहिले देशमा अर्कोले गल्ती गर्‍यो म पनि गल्ती गर्छु भन्ने ढङ्गले राष्ट्रघाती कदमहरू चालिएको आरोप लगाउनुभयो ।

नेता खनालले भन्नुभयो, ‘एमसीसी सम्झौता झलनाथ खनाल प्रधानमन्त्री हुँदा सुरु भएको भनेर केहीले प्रचारप्रसार गरिरहेका छन् । यो सय प्रतिशत मात्रै होइन एक लाख प्रतिशत झुटो कुरा हो । म प्रधानमन्त्री भएको बेलामा प्रधानमन्त्रीको कार्यालयबाट कुनै न कुनै चिठी लेखेको छु, न कुनै अनुरोध गरेको छु । एमसीसी सम्झौता गर्ने कुरामा एउटा कुरा पनि अघि बढाएका छैनौ ।