फागुन १५ः जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन काठमाण्डौदेखि विश्वको अग्लो हिमाल सगरमाथाको आधार शिविर कालापत्थरसम्म पदयात्रा हुने भएको छ । यस वर्षको मार्च ८ अर्थात अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न क्षेत्रका ४० जना महिलाले १३ दिने पदयात्रा गर्ने भएका हुन् । फागुन १७ गते मङ्गलवार महिला टोली आधार शिविर प्रस्थान गर्नेछ ।
वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ नाराका साथ विभिन्न क्षेत्रका महिलाहरुले संयुक्त रूपमा पदयात्रा गरी आधार शिविरमा पुगेर विशेष कार्यक्रम गर्ने तयारी छ । परम्परागतभन्दा नौलो र उदाहरणीय कार्यक्रमबाट महिलाले देश र समाजका साथै जलवायु परिवर्तनका मुद्दामा पनि काम गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्ने सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले बताउनुभयो ।
उहाँले विश्व तापमानमा भएको वृद्धिले हिमालमा हिउँ पग्लिने क्रम बढेको र यो पदयात्राले वातावरणीय न्यायका लागि जलवायु परिवर्तनका असरविरुद्ध महिलाको आवाज बुलन्द गर्ने समेत बताउनुभयो ।
जलवायु परिवर्तनले खासगरी महिला जनजीवनमा पारेका प्रभाव र त्यसमा न्याय खोज्न गर्नुपर्ने पहलका बारेमा बहस गर्ने र यसबारेमा गर्नुपर्ने काम तथा सुझाव समेटेर कालापत्थर महिला घोषणापत्र जारी गर्ने अभियानले जनाएको छ । हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भए पनि बढ्दो तापमान र जलवायु परिवर्तनको असरबाट नेपाल सबैभन्दा बढी प्रभावित देशको सूचीमा छ ।









