फागुन १५: सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संसद् जस्तो महत्त्वपूर्ण थलोबाट पनि देशको विरुद्ध केही हुन्छ कि भनेर आम नागरिक चिन्तित भएको बताउनुभएको छ ।
अमेरिकी सहायता एमसीसी सम्झौताको बारेमा संसदमा भएको छलफलमा भाग लिँदै खनालले देशका नागरिकले नेपाल र यहाँको कानुनविरुद्ध नभइ सार्वभौमसत्ता र स्वाधीनता रक्षाका लागि सडक आन्दोलन गरिरहेको र संसद्ले पनि गलत गर्छ कि भनेर चिन्तामा रहेको बताउनुभयो । यस्तो महत्त्को विषयमा संसदमा छलफल हुनुपर्नेमा कुनै दलको विरोध र अशान्त वातावरणमा छलफल थालेकोमा आपत्ति जनाउनुभयो ।
‘नागरिक देशको स्वाधीनता र सार्वभौमसत्ताको विषयमा चासो गर्दै आन्दोलनमा छन् । प्रहरीले लाठी चार्ज गरिरहेको छ । उनीहरूले देश र कानुनको विरुद्धमा आवाज बोलिरहेका होइनन्, दमनको यसको निन्दा गर्न चाहन्छु’, खनालले भन्नुभयो ।
संसदमा भइरहेकाे अवराेधलाई लिएर उहाँले भन्नुभयाे, ‘हामीले कस्तो वातावरणमा यो छलफल गरिरहेका छौँ ? सभा शान्त हुनुपर्थ्याे कि पर्दैनथ्यो ? सभामुख सभाको अब्बल नेता हो, तपाईँले सञ्चालन गरिरको अवस्था सिङ्गो नेपालले हेरिरहेको छ, आफैँले विचार गर्नुहोला ।’









