स्थानीय तह चुनावमा तालमेल गरि पार्टीले ठूलो सफलता प्राप्त गर्छ:अध्यक्ष नेपाल

फागुन २३: सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह चुनावमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गर्नुभएको छ ।

रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई आज सोमवार काठमाण्डौमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह चुनावमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताउनुभएको हो । पार्टीले आउँदो चुनावमा केन्द्रित भएर टोल–टोलमा सङ्गठन विस्तार र परिचालनमा लागेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी आउँदो चुनावको तयारीलाई केन्द्रविन्दुमा राखेर वडा, टोल–टोलमा पनि पार्टीको कमिटी विस्तार गर्दै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरोको पहिलो बैठक आज नै काठमाण्डौमा रहेको एक ब्याङ्क्वेटमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आउँदो कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।