११२औं अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रम सहित मनाईदै

फागुन २४:

आज ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि आज नारी दिवस विविध कार्यक्रम गरेर मनाउने गरिएको छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

यस वर्ष ‘सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘Gender equality today for a sustainable tomorrow’ भन्ने तय गरिएको छ ।

नारी दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

पछिल्लो केहि महिना यता प्राय जसो हप्ता नबित्दै एक पछि अर्को बलात्कारको घटना घट्न थाले संगै महिला माथीे समाजको चेत र राज्यको दृष्टिकोण फेरिनुपर्ने विश्लेषकहरुको भनाई छ ।

एक पछि अर्को गर्दै नावालिकहरु माथि हुने गरेको जबरजस्त करणि, महिला माथीको शोषण दमन, समाजमा उनीहरुमाथीको हेपाहा प्रवृति , पित्रिसत्तात्मक ब्यबस्था लगायतका विषयमा भयंकर वैज्ञानीक दृष्टिकोण बाट नया छलफल हुन आवश्यक रहेका बिश्लेषकहरुको सुझाव छ ।