यूएई प्रवेश गर्नेले अब आबुधाबी विमानस्थलमा पीसीआर परीक्षण गर्न नपर्ने

फागुन २७ः अब यूएईको आबुधाबी विमानस्थलमा ओर्लेपछि यात्रुले पीसीआर परीक्षण गर्न नपर्ने भएको छ ।

विमानस्थलमा ओर्लेपछि अनिवार्य गर्नुपर्ने पीसीआर परिक्षण अब भने गर्न नपर्ने भएको हो । कोराना विरुद्धको खोप नलगाएकाले पनि विमानस्थलमा ओर्लेपछि पीसीआर परीक्षण गर्नु नपर्ने आबुधाबी विमानस्थलको निर्णयलाई उद्धृत गर्दै गल्फ न्युजले समचार लेखेको छ।

तर कोरोना विरुद्धको खोप नलगाएका यात्रुले आबुधाबीको लागि प्रस्थान गर्नुभन्दा ४८ घण्टा पहिलेको कोरोना नेगेटिभ पीसीआर रिपोर्ट भने पेस गर्नुपर्नेछ । खोप लगाएकाहरुले भने प्रि डिपाच्र्युर पीसीआर टेस्ट गर्नु नपर्ने जनाएको छ ।

यदि आफूले पीसीआर टेस्ट गर्न चाहेमा ४० दिर्हाम शुल्क तिरेर पीसीआर परीक्षण गर्न सकिनेछ । यस्तै खोप नलगाएका यात्रुले अल हस्न मोबाइल एप्लिकेशन डाउनलोड गरेको हुनुपर्ने आबुधाबी विमानस्थलले पछिल्लो समय जारी गरेको कोरोना सम्बन्धी मापदण्डमा उल्लेख छ । यसले धेरै बिदेशीलाई सहयोग मिल्ने अनुमान गरिएको छ ।