म्याग्दीमा सात प्रतिशत मत बदर

जेठ ७ : हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५।०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कूल खसेकामध्ये पूर्णरुपमा ०।७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि ११ प्रतिशतसम्म मत पूर्णरुपमा बदर भएको थियो । मतदाता शिक्षा र अनुभवका कारणले यसपालिको चुनावमा अघिल्लो भन्दा बदर मतको दर घटेको जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाइ छ ।

छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष/तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ ।

काँग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेका छन् । नेकपा माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ ।