जेठ १७ : खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेको आरोप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।
बालिकालाई ११ जेठ बिहान करिब ९ बजेर ३० मिनेट जाँदा बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । बलात्कार प्रयासको क्रममा नाबालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
आरोपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएको थियो ।
पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेको हो ।











