काठमाडौं उपत्यकामा आउने मेलम्ची सुरुङको ढोका बन्द गरियो

जेष्ठ  १७ : मेलम्ची देखि काठमाडौं उपत्यकामा आउने खानेपानीको मुखढोका बन्द गरिएको छ ।

सिन्धुपाल्चोक स्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा सुरु भएसंगै टनेलभित्र बालुवा सहित धमिलो पानी प्रवेश हुने भएको भन्दै मंगलबार बिहान ८ बजेदेखि मूल ढोका बन्द गरिएको हो ।

मूल ढोका बन्द गरिएसँगै महाँकालचौर पानी भण्डारण पोखरीमा पानी आउन बन्द भएको छ । आजैदेखि मेलम्ची खानेपानी वितरण समय तालिकासमेत हेरफेर गरिएको छ ।

नेपाल सरकार, खानेपानी मन्त्रालयले मेलम्ची मुहान जलाधार क्षेत्रको भौगोलिक अध्ययन गरी प्राप्त हुने प्रतिवेदनको आधारमा दिगो रूपमा मेलम्ची खानेपानी व्यवस्थापनको लागि प्रयास भइरहेको आयोजनाको भनाइ छ ।

बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ । गत वर्षको १ असारमा आएको बाढीका कारण मेलम्चीको मुहानमा क्षति पुगेको थियो ।