अर्थमन्त्रीप्रति योगेश भट्टराईको व्यंग्य – बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड भएन

जेष्ठ १७: एमालेका सांसद योगेश भट्टराईले शान्तिपूर्वक बजेट प्रस्तुत हुनुले संविधान र लोकतन्त्र परिपक्व हुँदै गएको संकेत भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै भट्टराईले बजेटका प्राथमिकतामा पनि प्रश्न उठाएका थिए ।

अर्थमन्त्री शर्मालाई २०६७ सालको घटना स्मरण गराउनका लागि भट्टराईले ब्रिफकेस तोडफोड नभएको र कुर्सी नभाँचिएको बताएका हुन् । ‘अर्थमन्त्रीले २ घण्टा ५५ मिनेट लगाएर बजेट वाचन गरिरहँदा महत्त्वपूर्ण उपलब्धि महसुस गरेको छु ।

त्यो के हो भने यसपटक अर्थमन्त्रीले बजेट प्रस्तुत गरिरहँदा बजेट ब्रिफकेस तोडफोड भएन, सांसद बस्ने कुर्सी भाँचिएन, संसद्का माइक भाँचिएनन्,’उनले भने, ‘संवैधानिक प्रक्रिया, लोकतन्त्र परिपक्व हुँदै जाँदैछ । उत्तेजना, आवेगबाट संयमता र धैर्यतातिर जाँदैछौँ ।’