गाँउघरमा भोट शहरमा भोजः होटल हिमालयनमा जनप्रतिनिधिलाई रात्रिभोज

जेष्ठ १८ः कमलपोखरीस्थित कुमारी हलमा आएका आफ्ना पार्टीका स्थानीय जनप्रतिनिधिलाई माओवादी केन्द्रले बुधबार साँझ रात्रिभोज दिने भएको छ। भइरहेको प्रशिक्षमा क्रममा साँझ कुपण्डोलस्थित हिमालयन होटलमा रात्रिभोज हुने जानकारी दिइएको एक जनप्रतिनिधिले जानकारी दिए।

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबार र बिहीबार उनीहरूलाई प्रशिक्षण दिन लागिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।

पार्टीले आयोजना गरेको प्रशिक्षणमा सहभागी हुन काठमाण्डौ आएका जनप्रतिनिधिहरूलाई बेलुकी ७ देखि ९ बजेसम्म हिमालय होटलमा भोजको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रशिक्षणमा पालिका चुनावमा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुखहरू सहभागी छन् । अघिल्लो कार्यकालमा उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदानप्रदान गर्ने कार्यक्रम राखिएको छ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्र रूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी छन्।