चार महिनादेखि त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)

जेठ १८: कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला खुलाइएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले ताला खोलेको हो । बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो ।

क्रान्तिकारीले मध्य केन्द्रीय कमाण्डका नाममा विज्ञप्ति जारी गर्दै चार महिना भन्दा बढी समयदेखि ताला लगाएर विश्वबिद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै ताला खोल्नु पर्ने पक्षमा पुगेको जनाएको छ । उसले समस्याको समाधान वार्ता र छलफलबाट निकाल्नु पर्नेमा जोड दिएको छ ।

‘विश्वविद्यालयको कूलपति सम्माननीय प्रधानमन्त्री हुँदै गर्दा सो विश्वविद्यालय महिनौ देखि ताला लागाइनु, उपकूलपतिबाट समस्या समाधानप्रति कुनै चासो व्यक्त नगर्नु आफैमा लजास्पदको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

ताला खोल्न जिम्मेवार पक्षलाई विभिन्न माध्यमबाट आग्रह गर्दा पनि कसैको ध्यान नपुगेपछि आफूहरूले ताला फोडेको विज्ञप्तिमा जनाइएको छ ।