‘निर्मला पन्त हत्या प्रकरण’ टुङ्गो लगाउनु मेरो पहिलो प्राथमिकता : आईजीपी सिंह

जेठ १९: नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले ‘निर्मला पन्त हत्या’ को विषयलाई टुङ्गो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । महानिरीक्षक सिंहले निर्मला हत्याको विषयलाई टुङ्गोमा पुर्याउनु आफ्नो विशेष प्राथमिकतामा रहेको बताएका हुन ।

बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिंहले अघिल्ला महानिरीक्षकहरूले प्राथमिकतामा राखेर अघि बढाएका कामहरूलाई पनि आफूले निरन्तरता दिने बताए ।

प्रहरीको सरुवा/बढुवामा अनावश्यक चलखेल बन्द गर्ने पनि उनले प्रतिबद्धता जनाए । आफ्नो कार्यकालमा हुने सबै सरुवा बढुवा उत्कृष्टताको आधारमा गर्ने बताउँदै महानिरीक्षक सिंहले आफ्नो ब्याचमा उत्कृष्ट हुने व्यक्तिलाई नै सरुवा र बढुवामा प्राथमिकता दिने गरी आफूले काम गर्ने बताए ।