धेरैबेर कुर्सीमा बस्नुहुन्छ ? यस्तो जोखिम भोग्नुपर्ला…….

जेठ २०: पहिले पहिले जस्तो आज भोलि मानिसले श्रम गर्ने प्रचलन कम भएको छ । आजभोलि घन्टौँसम्म कुर्सीमा बसिरहँने र इन्टरनेटमा काम गर्ने क्रम बढ्दो छ । एउटै शैलीमा निरन्तर कुर्सीमा बस्ने कारण मानव स्वास्थ्यमा गम्भीर असर गर्छ । खासगरी ढाडको समस्या निम्तिने सम्भावना ८० प्रतिशतले बढाउँछ । ढाडको पुच्चरको हाडमा समेत नराम्रोसंग असर गर्छ ।

कुर्सीमा निरन्तरको बस्दा खुट्टा, तिघ्रा, कम्मर, पिठिउँ लगायतका धेरै ठाउँमा शारीरिक समस्या उत्पन्न हुन्छ । विभिन्न प्रकारका अध्ययन अनुसार कुर्सीमा निरन्तर बस्ने व्यक्तिमा नसर्ने रोगको जोखिम बढी हुन्छ ।

अमेरिकी र बेलायती वैज्ञानिकहरुको अध्ययनको निष्कर्ष अनुसार २० मिनेटभन्दा धेरै समयसम्म कुर्सीमा बस्नु हुँदैन । हरेक २०÷२० मिनेटमा कुर्सीबाट उठेर फेरी बस्दा जोखिम भने कम गर्न सकिन्छ ।
कुर्सीमा निरन्तर बस्ने समस्याले मांशपेशी, ढाड, घाँटी, अस्थिपञ्जर प्रणाली, स्नायु प्रणालीको समस्या मात्र होइन, नसर्ने रोगको जोखिम हुन्छ ।

मुटुरोगको जोखिम दोब्बर

लामो समयसम्म बसिरहने व्यक्तिलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना उभिने व्यक्तिको तुलनामा दोब्बर हुन्छ । अध्ययन अनुसार निरन्तर बसिरहने व्यक्तिको रगतमा इन्सुलिनको स्तर २४ प्रतिशतले तल झर्छ । यसले मधुमेहको जोखिम निम्तिन्छ ।

शरीरमा हुने राम्रो कालेस्ट्रोलको स्तर २० प्रतिशत र बोसो कम गर्ने इन्जाइम ९० प्रतिशतका दरले नै घट्ने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

क्यान्सर र मधुमेहको पनि जोखिम

अध्ययन अनुसार निरन्तर ६ घन्टा वा त्यो भन्दा बढी समयसम्म कुर्सीमा बसेर काम गर्नेहरुमा हृदयघात, क्यान्सर, मधुमेह, हाडजोर्नी, मांसपेशी लगायतका रोगको जोखिम उच्च हुन्छ । शारीरिक उर्जा समेत खर्च हुने भएकाले रक्तप्रवाह राम्रोसंग हुन पाउँदैन । यसले मांशपेशीको समस्यालाई थप जटिल बनाउँदै जान्छ । बुढ्यौली प्रकृया एलिङ पछि छिटो सुरु हुन्छ ।

निरन्तर कुर्सीमा बस्नेले के गर्ने ?

एक व्यक्ति दिनमा एक घन्टा हिँड्छ भने उसको आयु १० वर्ष बढ्छ । त्यसैले कुर्सीमा बसेर काम गर्नु पर्ने अवस्थामा आधा आधा घन्टामा एकपटक टेबलको वरिपरि भएपनि तीन मिनेट हिँड्नु पर्छ ।

कुर्सीमा बस्दा पनि पिठिउँमा राम्रो सहारा लगाएर बस्नु पर्छ । कुर्सीको सतह सकभर कडा हुनु पर्छ । बस्दा कुप्रो परेर पनि हुँनु हुँदैन । कुर्सीमा बस्दा खुट्टा चढाएर, पलेँटी मारेर बस्दा पनि स्वास्थ्यलाई राम्रो गर्दैन ।

चिकित्सकहरुका अनुसार कुर्सीमा पलेटी मोर बस्दा ढाड र पेल्भिक बोनमा असर हुन्छ । खुट्टाका नसा थिचिएर रक्तप्रवाहमा समस्या निम्तिन्छ । पलेटी मारेर बस्दा पनि खुट्टाका भेनमा समस्या हुन्छ । यसले हाम्रो स्नायुमा समेत दबाब पर्छ ।