नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै

जेठ २२ : नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडीबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ ।

सिथि नखः हरेक वर्षको जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने गरिन्छ । त्यस्तै आजका दिन नेवार समुदायले देवाली पूजाको पनि समापन गर्छन् । आज नै काठमाण्डौको जैसीदेगलमा रहेको ६ वटा टाउको भएको कार्तिकेय कुमारको पनि जात्रा गरिन्छ । त्यस्तै भक्तपूरको चासखेलमा चण्डेश्वरी देवी र थिमिका लोकेश्वरको पनि जात्रा हुन्छ ।

सिथि नखःका दिन हरेक वर्ष पानीको श्रोतलाई पुनः सरसफाइ गर्ने र आफू बसेको वातावरणलाई सरसफाइ गरेमा सभ्यताको विकास हुन्छ भन्ने मान्यताका साथ पानीको श्रोत इनार, कुवाको पनि सरसफाइ गरिन्छ । इनारको विशेष पूजा गरी इनार भित्र गएर सफा गरिन्छ ।

सफा गरी सकेपछि चार दिनसम्म यो इनारबाट पानी तानिँदैन, छोपेर राखिन्छ । चार दिनमा फेरि पूजा गरेर मात्र पानी लिने चलन छ । अझै पनि नेवार समुदायमा इनार सफा गर्न विशेष दिन पर्खिने परम्परा छ ।