चितवन देखियो नयाँ प्रजातिको चरा,कति पुग्यो नेपालमा चराको संख्या

जेठ २५ : चितवनमा हालसम्मकै नयाँ प्रजातिको चरा भेटिएको छ ।

नेपाल  पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको छ।

छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको तस्वीर लिएका थिए । नयाँ चरा भेटिएपछि चराविज्ञ डा.हेमसागर बरालसहितको विज्ञ समूह मङ्गलबार चितवन आएर थप अध्ययन गरेको थियो।

बिडारीका अनुसार मङ्गलबार पनि चरा भेटिएको थियो । विज्ञहरूले उक्त चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा यहाँ आएको हुनसक्ने अनुमान गरिएको छ ।

यो चरा लजालु स्वभावको भएको बिडारी बताउँछन्। यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८९१ पुगेको छ। चितवनमा मात्रै ६५० प्रजातिका चरा रहेको पाइएको छ।