जेठ २५ : वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको पुनः एकीकरण परियोजनाका लागि स्वीजरल्याण्ड सरकारले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
‘रिइन्ट्रिग्रेसन अफ रिर्टर्नी माइग्रान्ट वर्कर’ (रेमी) परियोजना बुधबार एक कार्यक्रमकाबीच अर्थ मन्त्रालय र स्वीजरल्याण्ड सरकारबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा नेपालकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक समन्वय शाखाका प्रमुख ईश्वरी प्रसाद अर्याल र स्वीजरल्याण्ड सरकारको तर्फबाट काठमाण्डौमा रहेको स्वीस दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गरेका छन् ।
रेमी परियोजना प्रदेश एक र मधेस प्रदेशको २० वटा पालिकाहरूमा लागू हुनेछ । चार वर्षका सञ्चालन हुने परियोजना आउँदो जुलाई अर्थात् असार १७ गतेदेखि लागू हुने छ । स्वीस सरकारमार्फत आएको रकम सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरू पुनः एकीकरणका लागि उनीहरूले विदेशमा सिकेको ज्ञान सीप, पुँजी र अनुभवको उपयोग गर्नका श्रमिकको क्षमता अभिवृद्धि गर्ने यो परियोजनाको उद्देश्य रहेको छ ।











