प्रसारण लाइनमा चढेका व्यक्तिको ८ घण्टापछि उद्धार

जेठ २८ : नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा चढेका व्यक्तिलाई करिब ८ घण्टापछि उद्धार गरिएको छ ।

दिनभरि हाइटेन्सन लाइनमा चढेका माइला भनिने प्रेम बिकलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको हो ।

हेलिकोप्टरमा गएका तीन जना सैनिकले उनलाई फकाएर तारबाट निकालेर हेलिकोप्टरमा चढाएका थिए । शनिबार बिहान १० बजेदेखि बिजुलीको तारमा चढेर हिँडिरहेका बिकलाई साँझ ७ बजेपछि नेपाली सनोको टोलीले सकुसल उद्धार गरेर जमिनमा ओरोलेको हो ।

प्रसारण लाइनमा चढेका व्यक्ति मानसिक सन्तुलन ठीक नरहेको बुझिएको छ । ती व्यक्ति पोलमा चढ्न थालेपछि करेन्ट लाग्न सक्ने भन्दै प्राधिकरणले उक्त प्रसारणलाइनको बिजुली काटेको थियो ।