जेष्ठ २९ : संयुक्त दलित विद्यार्थी संघर्ष समितिले विभेदकारी गुरुकुल र गुरुकुल प्राचार्य विरुद्ध धर्ना गर्ने भएको छ ।

दलित भएकै कारण विद्यार्थीले गुरुकूलमा भर्ना नपाएको भन्ने समाचार सार्वजनिक भएपछि मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले ४ जना छात्रको अहिले भने पठनपाठनको जिम्मेवारी लिने भएको छ।
बर्दियाको बारबर्दिया–६ का दलित परिवारका ४ छात्र अध्ययनका लागि भन्दै ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा भर्ना हुन गएका थिए। १० वर्षीय समीर सुनार, १२ वर्षीय विराज सुनार, ९ वर्षीय भुवेश्वर सुनार र १० वर्षीय भीमबहादुर सुनारले विद्यालयमा भर्ना हुनका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेका थिए।
भर्ना लिने भन्दै विद्यार्थीले केश मुण्डन र व्रतबन्ध समेत गरेका थिए। तर, भर्नाका लागि थर सोध्दा दलित भएको पाइएपछि विद्यालयले उनीहरुलाई घर जान भनेको थियो।
ललितपुरको शङ्खमूलस्थित जगदगुरु आदर्श संस्कृत गुरुकूलमा सिट सङ्ख्या पूरा भएको भन्दै भर्ना लिन नसक्ने जनाए पनि सो गुरुकूललमा हाल ३३ मात्र छात्र रहेको बताइएको छ। सो गुरुकूलको वेबसाइटमै सिट सङ्ख्या ५० रहेको उल्लेख छ।
दलित भएकै कारण गुरुकूलबाट निकालिएको कारण विभेदकारी गुरुकुलका प्राचार्यलाई कानुनी कार्वाही र चार जना विद्यार्थीलाई भर्ना गर्नु पर्ने माग सहित आज २ बजेदेखि शंखमुल स्थित श्री जगत गुरु आर्दश संस्कृत विद्यापिठ घेराउ एबम् प्रदर्शन कार्यक्रम गर्ने भएको छ ।
उक्त कार्यक्रममा सबै न्यायप्रेमी महानुभावलाई उपस्थित हुनका लागि संयुक्त दलित विद्यार्थी संघर्ष समितिले अनुरोध गरेको छ ।










