प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक रहेको शशांक कोइरालाको भनाई

जेठ ३० : नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको पनि स्पष्ट पारे । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टीभित्र सबैसंग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रियासमेत दिए । पार्टीका पदाधिकारीलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ थियो ।

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण आयोग आफू मातहत राख्नेरनराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गरे । अधिकार प्रधानमन्त्रीको भएकाले त्यसमा विरोध गरिरहन आवश्यक नभएको नेता कोइरालाको जवाफ थियो ।