लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारुमा जाहेरी

जेठ ३१ : लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वलीविरुद्ध  अभद्र व्यवहारुमा जाहेरी परेको छ । पीडित तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले मंगलबार अभद्र व्यवहारमा जाहेरी दिएकी छन् । जाहेरी ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पेस भए पनि दर्ता भएको छैन ।

वलीले मंगलबार बिहान बस्नेतको घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई गालीगलौज, कुटपिट र अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी छन् । राज्यमन्त्री  वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको र जाहेरी पनि जिल्लामा नै पठाइने प्रहरीले जनाएको छ ।

अर्काको घरमा पसेर वलीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरी टोलीले वलीलाई नियन्त्रणमा लिएको थियो । त्यसक्रममा स्थानीय बासिन्दा ईलाका प्रहरी कार्यालय पुगेर वलीलाई कारबाहीको माग गर्दै नाराबाजी गरेका थिए ।