जेठ ३१ : निर्वाचन आयोगले आउँदो मङ्सिर पहिलो हप्तासम्म सङ्घीय र प्रदेश सभा चुनाव गर्ने गरी तयारी थालेको छ । आज पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सङ्घीय र प्रदेश सभाको चुनाव आउँदो मङ्सिर पहिलो हप्तासम्म गर्ने गरेर आन्तरिक तयारी थालेको बताएका हुन्। प्रवक्ता पौडेलले आयोगले निर्वाचन कानुनअनुसार दिएको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने भएकोले आयोगले आन्तरिक तयारी गरिरहेको पनि स्पष्ट पारे।
यस्तै आयोगले सङ्घीय र प्रदेश सभा चुनावलाई मध्यनजर गरी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्ने भएको छ । प्रवक्ता पौडेलले असार १ गतेदेखि सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्यक्रम सुरु गर्न लागेको बताए ।
उनले अहिले अस्थायी बसोवास गरिरहेकै जिल्लाको निर्वाचन कार्यालय गइ मतदाता नामावली दर्ता गर्न सकिने पनि उल्लेख गरे । प्रवक्ता पौडेलका अनुसार मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा आवश्यक निर्णय गरी त्रुटि सच्याउन सकिनेछ ।


















