राज्यका हरेक संरचनामा दलित महिलाहरुको समान सहभागिता हुनुपर्नेमा जोड

असार ६ : महिला नेत्री तथा दलित महिला अधिकारकर्मीले दलित समुदायका महिलाको राज्यका हरेक संरचनामा समान सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । दलित महिला सङ्घ (फेडो) ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यका बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा उनिहरुले यस्तो माग गरेका हुन् ।

कार्यक्रमका सहभागीले दलित महिला दोहोरो मारमा परेको भन्दै उनीहरुको लागि राज्यले विशेष आरक्षणसहित प्रत्येक संरचनामा समान सहभागिताका लागि जोड दिनुपर्ने बताए । समाजवादी पार्टीकी सचिव दुर्गा सोवले समाजमा दोहोरो, तेहेरो विभेद भोग्दै आएका दलित महिलालाई स्थानीय तहको निर्वाचनमा निर्णायक तहभन्दा पनि वडा सदस्यमै सीमित गरिएको आरोप लगाइन् ।

दलित समुदायका महिलाको आर्थिक, सामाजिक र राजनीतिक समस्याप्रति सरकार र मुख्य राजनीतिक पार्टी नै गम्भीर हुन नसकेको सोवको भनाइ छ । फेडोकी अध्यक्ष कला स्वर्णकारले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै थप अधिकारका निम्ति दलित समुदायका महिलाले एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

महासचिव रेणु सिजापतिले देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका कारण दलित समुदायले ज्यानसमेत गुमाउनुपरेको अवस्था उल्लेख गर्दै सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।