रतुवा खोलामा आएको बाढीका कारण १३ परिवार विस्थापित, दुई दर्जन बढी घर डुबानमा

असार ६ : झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ परिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेका छन् । दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा बाढीले कटान गर्दा १३ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित हुनेमा दमक–७ का खड्ग लिम्बु, राजेश किस्कु, विष्णु लिम्बु, मनोज मास्के, सुवास लिम्बु, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ । उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उद्धार गरी सुरक्षित ठाउँ र आफन्तको घरमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै, रतुवा खोलामा आएको बाढीकै कारण गौरादह नगरपालिका–६ मा रहेको टङ्गुवा बस्तीमा पानी पसेको छ । त्यहाँका २५ घर डुबानमा परेका छन् । बस्तीमा झन्डै दुई फिट पानी पसे पनि अन्य क्षति नभएको र पानीको सतह बिस्तारै घट्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।