असार ६ : तीव्र गतिमा ओर्लिएको सेयर बजारले सोमबार अघिल्लो बुलको उच्चतम विन्दुलाई परीक्षण गरेको छ। दोहोरो अंकले घट्दा परिसूचक १८८४.८१ को विन्दुमा बन्द हुन पुगेको हो । पछिल्लो बुलिस मुभमा सेयर बजारले १८८८ सम्मको यात्रा तय गरेको थियो।
यो विन्दु नजिक परिसूचकको प्रभावशाली टेवा रहेको अनुमान अधिकांश बजारले गरिरहेको छ। यद्यपि सोमबार सेयर बजारको उतारचढाव दौरान परिसूचक १८८० को विन्दुसम्म ओर्लिन पुग्यो। कारोबारको सुरुवातमै हाबी भएको बिक्री चापले परिसूचक अनुमानित टेवा विन्दुभन्दा तल आए लगत्तै झन् तीव्रता पायो।
सेयर बजारको अपत्यारिलो प्रवृत्तिले लगानीकर्तामा अन्योल थपेको छ। तीन दशक लामो मुलुकको सेयर इतिहासमा बजारले अघिल्लो बुलिस हाइमा आफ्नो मेजर सपोर्ट बनाउने गरेको छ। बारम्बार दोहोरिएको उक्त व्यवहार यसपटक सार्थक हुने अथवा नहुने लगानीकर्तामाझ अन्योल सिर्जना गरेको छ।
पछिल्ला साइकलमा यस विन्दु नजिकिए लगत्तै सेयर बजारमा खरिदकर्ताको सक्रिय प्रदर्शनी देखिने गरेको थियो । पर्याप्त ‘एक्युमुलेसन’ले बजारको ट्रेन्ड रिभर्स नै गर्ने गरेको थियो । यद्यपि यस डिमान्ड जोनमा ‘डीस्टिब्युसन’ को अनुपात ‘एक्युमुलेसन’को तुलनामा अधिक हुँदा, बजारको घट्दो लयले थप निरन्तरता पाउने गर्थ्यो।
डिमान्ड जोनमै आइपुगेको परिसूचकमा अझै पनि आवश्यक ‘एक्युमुलेसन’ भेटिंदैन । परिणामस्वरूप ४९.३१ अंकको पहिरो सोमबारको सेयर बजारमा गयो। विशेषगरी बजेट सार्वजनिक भए लगत्तै बजारको गिरावटले तीव्रता पाएको देखिन्छ । बजेटअघि पनि बजार घट्ने गरेको थियो। तर बजेटपछि भने बजार निरन्तर ओरालो लाग्दै छ।


















