बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

असार ७ :  बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । एक कार्यक्रमको आयोजना गरी बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा रहेका खोप पाउने उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाइसकेकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको बताइएको छ । सो घोषणाका लागि १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । उक्त उमेर समूहका यहाँ चार हजार २६८ बालबालिका रहेका छन् ।

जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि यहाँका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता गर्नुपर्दछ । पालिकाले पूर्ण खोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षणसमेत गर्ने गर्दछ । १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएरनपाएको अनुगमन गर्न घरधुरी सर्वेक्षण गरिएको थियो ।