असार ८ : काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो । यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाण्डौको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ । बागबजार क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन भइरहेको हो ।
भिब्रियो कलेरा नामक ब्याक्टेरियाका माध्यमबाट लाग्ने हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षण देखिन्छ ।
तारन्तार चौलानी जस्तो सेतो पानी जस्तो देखिने दिसा लाग्ने, शरीर कमजोर हुने मांशपेशी बाउँडिने, वान्ता हुने र थकाइ महसुस हुने हैजाका लक्षण हुन् । यस्ता लक्षण देखिना साथ घरमै प्राथमिक उपचार सुरु गरी तुरुन्त अस्पताल जानु पर्ने चिकित्सक बताउँछन् ।।


















