असार ९ : सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको हनुमाननगर कंकालिनी नगरपालिका १ मा आज बुधवार बस पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा एक जना महिलाको ज्यान गएको र परिचय भने खुल्न नसकेको बताइएको छ । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र पाँच जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक भागेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस अनियन्त्रित भएर सडकभन्दा तल खसेर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ ।


















