मौसम पूर्वानुमान: गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

असार १२: देशभर अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको महाशाखाले जनाएको हो।

कतै कतै भने भारी वर्षा समेत भइरहेको महाशाखाले जनाएको छ। महाशाखाकाका अनुसार आइतबार देशभर सामान्यदेखि पूर्ण बदली हुनेछ।

आइतबार पहाडी भूभागका धेरै तथा बाँकी भागमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। यसले बाढी र पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्।

विशेष गरी नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। कास्कीको लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा गएराति लगातार ६ घण्टा भारी वर्षा मापन भएको छ।