भैरहवामा सडक दुर्घटनाबाट हुने मृत्युदर बढ्यो, चालकको लापरबाही दुर्घटनाको मुख्य कारण

असार २६ : भैरहवामा पछिल्लो पटक सडक दुर्घटनाबाट हुने मृत्युदर बढ्न थालेको छ । दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कले देखाउँछ ।

आर्थिक वर्ष २०७८/७९ को जेठ मसान्तसम्ममा जिल्लामा १५९ दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट १५९ गम्भीर र ५६ सामान्य घाइते भएका छन् ।

गत आव २०७७/७८ मा २४३ दुर्घटना हुँदा ८२ जनाको मृत्यु भएको थियो । यो चालु आवभन्दा कम हो । आव २०७६/७७ मा १९४ दुर्घटना हुँदा ८० जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढदो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो ।