काठमाडौँ । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले इजिप्टका विदेशमन्त्री डा बदर अब्देल(अतिसँग आज फोनवार्ता गरेकी छन्।
इजरायल सरकार र हमासबीच शान्तिवार्ता र युद्धविराम भएपछि आफ्नो नियन्त्रणमा रहेका बन्दीहरुलाई हमासले आइतबारबाट मुक्त गर्ने प्रक्रियाको थालनी गरेको छ । परराष्ट्रमन्त्री डा राणाले पहिलो चरणमै विपीनको रिहाइका लागि पहल गरिदिन विदेशमन्त्री डा अब्देल अतिमार्फत् इजिप्ट सरकारसँग आज सो आग्रह गरेकी हुन् ।
आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री डा राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी हुन् ।
फोनवार्ताका क्रममा मन्त्री डा राणाले इजरायल सरकार र हमासबीचको युद्धविरामका लागि इजिप्टले निर्वाह गरेको भूमिकाका लागि इजिप्टि सरकारलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपीनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएका थिए ।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री डा राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपीन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिरहेकी छन् ।
केही दिनमात्र अघि मन्त्री डा राणाले कतारका विदेश राज्यमन्त्री डा मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग पनि फोनवार्ता गरी सोही आग्रह गरेकी थिइन् ।











