बाढीले क्षतिग्रस्त बिपी राजमार्ग: चार खण्डमा पुनर्निर्माण हुँदै

काभ्रे । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो ।
कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ ।