काठमाडौं । जम्मु–कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध चालेको प्रतिशोधात्मक कदमको प्रतिक्रियामा पाकिस्तानले कडा निर्णयहरू सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकपछि पाकिस्तानले भारतसँगको सबै व्यापार, हवाई उडान र द्विपक्षीय सम्झौता स्थगित गरेको घोषणा गरेको हो ।
भारतले सिन्धु जल सन्धि निलम्बन गरेको भनी आएका दाबीहरूलाई पाकिस्तानले अस्वीकार गर्दै यस्तो कदमलाई ‘युद्धको कार्य’ मानिने चेतावनी दिएको छ ।
पाकिस्तानले भारतको पाँच बुँदे कदमलाई ‘एकपक्षीय, गैरजिम्मेवार र आधारहीन’ भन्दै आलोचना गरेको छ । भारतले पर्याप्त प्रमाणबिना पाकिस्तानलाई पहलगाम आक्रमणमा जोडेको भन्दै विरोध जनाइएको छ ।











