१८ वैशाख, हेटौंडा । आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा बागमती प्रदेश सरकारभित्रको असन्तुष्टि सतहमै आउन थालेको छ ।
सोमबार बसेको नीति तथा कार्यक्रम निर्माणसम्बन्धी कार्यदल बैठकमा मन्त्रीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा र एमाले नेता जगन्नाथ थपलियालगायतसँग खुलस्त रुपमा आफ्ना पीडा व्यक्त गरे
बैठकमा मन्त्रीहरूले सचिवहरू मन्त्रालयमा अनुपस्थित हुने, कर्मचारीहरूले असहयोग गर्ने र बजेटमा अनियमितता गर्ने गरेको आरोपसमेत लगाए । ‘सचिवहरू भत्ता आउने भएपछि जिल्ला–जिल्ला हिँडिरहन्छन् । हामी मन्त्रीहरू सचिव खोज्दै बस्नुपर्छ, यस्तोमा कसरी काम हुन्छ ?’ एक मन्त्रीको गुनासो थियो ।
बैठकमा केहीले विभागीय मन्त्रीलाई जानकारी नदिइ सचिवहरू सरुवा हुने गरेको गुनासो पनि गरे ।
मुख्यमन्त्री लामा संयोजकत्वको कार्यदलमा एमाले बागमती प्रदेश संसदीय दलका नेता थपलिया, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकार, प्रमुख सचेतक गोविन्द लम्साल, एमालेका प्रमुख सचेतक मधुसुदन पौडेल र सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ छन् ।
कार्यदलले नीति तथा कार्यक्रम र बजेटको प्राथमिकताबारे छलफल आयोजना गरेको थियो । बागमतीका १३ जना मन्त्रीहरुले आफ्नो प्रगति विवरण मुख्यमन्त्री लामालाई बुझाएपछि ती विवरणमाथि आंशिक छलफल भएको थियो ।










