न्यूयोर्क -अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको फस्ट टप शप काठमाडौं ८८४८ म्युजिक एण्ड फिल्म अवार्ड २०२५ युएसएमा गायक रामजी खाँड र गायिका सुनिता दुलाल उत्कृष्ट गायक गायिका घोषित भए । गायक रामजी खाँडले बन्दिपुरे सोल्टिनी गीतबाट अवार्ड चुमे भने गायिका सुनिता दुलालले नबोल अरुसँग गीतबाट अवार्ड चुम्न सफल भएकी हुने । ८८४८ म्युजिक एण्ड फिल्म अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट संगीतरत्न शम्भूजित बासकोटा र पपसम्राट ओमविक्रम विष्ट सम्मानित भए । संगीत क्षेत्रमा पाँच दशकसम्म पनि निरन्तर योगदान दिइरहनुभएको कारण एक हजार डलरसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको आयोजकमध्येका एक गायक राजेश हमालले जानकारी दिए । ८८४८ म्युजिक एण्ड फिल्म अवार्डको आयोजकहरूमा रेवेल इभेन्ट्सका तर्फबाट राजेश हमाल, इट्ना कार्की, निश्चल वाइबा, बुद्ध ट्याक्स एकाउन्टिङ्गको तर्फबाट पशुपति श्रेष्ठ र सतीसाल इन्टरनेसनल एलएलसीका तर्फबाट लकेश श्रेष्ठ, सजना महर्जन रहेका थिए । कार्यक्रम अमेरिकी राष्ट्रगान र नेपाली राष्ट्रगानबाट प्रारम्भ भएको उक्त कार्यक्रममा दिपेशकिशोर भट्टराई, मदनसिंह नेपाली, मोहन भुसाल, रीमा गुरुङ होडा, मालिका कार्की, सन्तोष लामा, अनिश (ओकली) तथा सशी रावलले गायन प्रस्तुत गरेका थिए ।८८४८ म्युजिक एण्ड फिल्म अवार्डमा कार्यक्रममा निर्देशक शंकर घिमिरेले फिल्म तेल भिसाका लागि उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल भए । त्यस्तै तेल भिसाबाट नै अभिनेत्री ऋचा घिमिरे सहायक अभिनेत्री घोषित भएकी छिन् भने अन्जय खड्काले उत्कृष्ट फिल्म सम्पादनको अवार्ड चुम्न सफल भए । त्यसैगरी अभिनेत्री निति शाह ‘ज्वाई साहेब’का लागि उत्कृष्ट नव–अभिनेत्री भएकी छिन् भने फिल्म ‘ह्वस्व दीर्घ’बाट प्रशान्त ताम्राकार उत्कृष्ट खलपात्रको अवार्ड चुम्न सफल भए । उनीहरुलाई महानायक राजेश हमालको हातबाट अवार्ड प्रदान गरिएको थियो८८४८ म्युजिक एण्ड फिल्म अवार्डमा फिल्म पूर्णबहादुर सारङ्गी वर्षको ब्लकबस्टर फिल्म घोषित हुँदै चार विधामा अवार्ड चुम्न सफल भयो भने अभिनेता विजय बराल उत्कृष्ट अभिनेता भए । फिल्म पूर्णबहादुरको सारङ्गीको गीत रैयाँ चाँदीबाट नै संगीतकार आशिष अविरल उत्कृष्ट पाश्र्व गायक बन्न सफल भए भने प्रशान्त सिवाकोटी उत्कृष्ट संगीतकार बन्न सफल भए । फिल्म ‘छक्कापञ्जा ५’ बाट केदार घिमिरे उत्कृष्ट हाँस्यकलाकार बन्न सफल भए भने फिल्म ‘बेहुली फ्रम मेघौली’बाट अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री बन्न सफल भइन् । फिल्म महाजात्राबाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार बन्न सफल भए भने फिल्म शाम्भाला उत्कृष्ट फिल्म बन्यो । नवनायकको अवार्ड फिल्म ‘बाह्र गाउँ’बाट समीर भट्टले अवार्ड चुम्न सफल भए गायिका समिक्षा अधिकारी फिल्म बोक्सीको घरबाट उत्कृष्ट पाश्र्व गायिका बन्न सफल भइन् । फिल्म ‘पूजार सार्की’बाट सहअभिनेताको अवार्ड अभिनेता आर्यन सिग्देलले अवार्ड चुमे भने पपुलर अभिनेता अफ दि इयर दयाहाङ राई र पपुलर फिल्म गीत रुकुमैकोट चुम्न सफल भयो ।










