कसरी मनाउँ दशै म ?

कसरी मनाउँ दशै म ?

न्यायको गजुर निहुँरिदा
अलिकती आगो
अलिकती मौनता
र धेरै धेरै घाइते अनुहारहरु
देख्छु म यो बेला ।

नेपाल आमा ICU मा हुँदा
कसैको अनुहार ढाकिएको देखिन्छ
देशभक्तिको मुखुण्डोले
छातीमा चोट थपेकाे छ
कहिँ धर्मको नाममा
कहिँ जातको नाममा
स्वार्थ बोकेर
कहिँ क्रान्तिको नाममा
र कहिँ मौन बस्नुको नाममा ।

सिंहदरबार जलिरहदा
धुवाँसँगै उडेकाे देख्दा
संविधानको धारा,
खरानीको थुप्रोमा बसेर म
सोचिरहेकी छु
कुन निधारमा टीका लगाउने
जब टाउको नै छैन
म कसरी मनाउँ दशै ?

बिरक्तिएकी छु म आज
दशैंको टीका जस्तै रातो रङले
लतपतिएका सडकहरू हेर्दा,
त्यही रातो रङ थियो
मेरा छोरा छोरीको रगत
जो परिवर्तनको गीत गाउँदा
छिनभरमै अस्ताउन पुगे
यो बेला
म कसरी मनाउँ दशै ?

नयाँ लुगाको के कुरा भो अब
मेरो बर्दी नै जलेपछी
हिजोको आन्दोलनमा
जब सुरक्षा दिने म नै
गुहार्दै थिँए मेरै सुरक्षाका लागि
तर सुरक्षाको नाममा
मेरै साथी मारिदा
म कसरी मनाउँ दशै ?

पोलिएको बर्दी
झुन्डिएको छ
शहरको आकाशमा
शोकको बत्ती झै,
फोडिएका घरका झ्यालबाट
जलेको सपना चिहाउँदै
म कसरी मनाउँ दशै ?

सडकको बिचमा उभिएको बन्दुक
गोलि पौँच र राउन्डको वजन
बर्दिले बोकेको सबै तौल
त्यो तौलमा
मेरो घरभित्रको पेट
म जस्तै धेरै
परिवारको निन्द्रा लुकेको पाउँछु ।

न्याय माग्ने आवाज दबाउने मन
मलाई कहाँ हो र !
कहिले अनुशासनको फेरोमा
कहिले कानुनी आदेशको फेरो भित्र
देख्छु, गहिरो रातमा
आफ्नै प्रतिबिम्ब
बर्दी भित्रको बाध्यता ।
देखिँदा टीकाको थालिमा
काँचका टुक्रा
म कसरी मनाउँ दशै ?

मेरो घर
खरानी भएको छ
तर त्यो घर मात्र होइन
विश्वासको घर
न्यायको घर
सपना बस्ने घर
सबै जलेका छन्।

न्याय दिने सर्वोच्च अदालत जल्दा
मेरो भरोसा जलेको छ
मैनबत्ती जस्तै ।
अब म कसरी न्याय दिलाउँ
कसरी आफुले न्याय मागौँ
किनकि यो बेला म आफै
अन्यायमा फसेको छु ।
न्यायको तराजु खोज्दै हिड्ने बेला
म कसरी मनाउँ दशै ?

न म नयाँ लुगा किन्छु,
न निधार रंगाउँछु।
न आशीर्वाद माग्छु,
न छोप्छु निधार टीकाले।
म शिरमा राख्छु
देशको पीडा
शोकको खरानी
र परिवर्तनको संकल्प।

किनककी
नेपाल आमा ICU मा हुँदा
यो बेला
टीकाको थाली होइन,
संवेदनाको जलपात्र
उठाउनु छ मलाई ।

बिन्दु पौडेल, स्याङ्जा ।