दलित समुदायबाट पहिलो प्रहरीको एआईजी डम्बर विक

काठमाडौ -दलित समुदायबाट प्रहरीको एआईजी हुने उनी पहिलो अधिकृत हुन् । मन्त्रिपरिषद्को निर्णय अनुसार डम्बर विक हाल प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय दलित समुदायबाट प्रहरीको एआईजी हुने उनी पहिलो कार्यरत छन् ।

प्रहरीमा नयाँ इतिहास बनाएका विकको सङ्घर्ष बाल्यकालदेखि नै सुरु भएको थियो । कलिलो उमेरमा उनले बुवाआमा गुमाए । ६ कक्षामा पढ्दै गर्दा टुहुरो भएपछि उनलाई दाजु खड्गबहादुर सुनारले हुर्काए ।

उनको गाउँमा माध्यमिक तहको शिक्षाका लागि विद्यालय थिएन । त्यसका लागि उनी घोराही आउनुपर्‍यो । त्यहाँ डेरा लिएर उनी ८ कक्षामा पढ्न थाले । तर, जब घरबेटीले दलित भन्ने थाहा पाए, उनलाई ‘डेरा छाडेर जाऊ !’ भनियो ।

घरधनीले निकालेपछि कलिलो उमेरका विक घोराहीस्थित अर्का घरधनी थारु जिम्दारकहाँ पुगे । त्यहाँ उनले थारु जिम्दारको छोरालाई ट्युसन पढाउने थाले ।

डम्बरले स्कुलमै विभेद र बहिष्करण देखे । सरस्वती पूजा गर्ने बेलामा स्कुलमा अरू सबै साथीहरूले पूजा गरेपछि मात्र डम्बरको पालो आउँथ्यो । शिक्षकहरूले उनलाई छुट्टै राखेर अन्तिममा पूजा गराएको सम्झिँदै उनले डम्बरले भने, ‘पूजा गर्दा मनमनै भन्थेँ, सरस्वतिले मलाई विभेद नगरुन् अरूले विभेद गरेर फरक पर्दैन ।’

एसएलसी सकेर उच्च शिक्षा अध्ययन गर्न उनी काठमाडौँ आए । शंकरदेव क्याम्पसबाट आईकम र मीनभवनबाट बीकम गरे । त्यसपछि त्रिभुवन विश्वविद्यालयमा मास्टर डिग्री पुरा गरे । विक भन्छन्, ‘दाजुले गाउँबाट पठाएको खर्च लिएर पढाइ पूरा गरेँ ।

पढाइ सकेपछि डम्बरलाई दाइले सधैँ विदेश जान हुँदैन भनेर सम्झाइराख्थे । दाइकै सुझाव अनुसार २०५३ सालमा उनले राष्ट्रिय अनुसन्धान विभागको निरीक्षक पदमा फारम भरे । नाम पनि निस्कियो ।

तत्कालीन विद्रोही माओवादीले २०५८ मङ्सिर ८ मा दाङ आक्रमण गरेपछि सरकारले डम्बर सहितका अधिकृतहरूलाई प्रहरीमा स्थानान्तरण गर्ने निर्णय गर्‍यो । हतियार चलाउनु नपर्ने जागिरमा इन्ट्री भएका विकलाई हतियार चलाउन पठाउने निर्णय भएपछि तत्कालीन गुप्तचर प्रमुख देविराम शर्माले भनेका थिए, ‘अब कि गर्ने, कि मर्ने हो, तिमी पुलिसमा जाऊ ।’

त्यसपछि प्रहरीमा स्थानान्तरण भएका विक अहिले एआईजीको पदसम्म पुगेका छन् । असोज २४ मा एआईजीको फुली लगाउने कार्यक्रममा गाउँबाट आएका उनका दाजुले विकलाई भने, ‘भाइ, मेरो इच्छा पुरा गरिस् ।’

फौजमा खुलेर कसैले छुवाछुत र विभेदको कुरा गरेनन् । तर, कुनै जिल्लामा जाँदा कुरा काट्दै भन्थे, ‘दलित डीएसपी पो आएको रहेछ ।’

जुनियर प्रहरीको बढुवा हुँदा सम्बन्धित इलाका र जिल्लामा फुली लगाइदिने प्रचलन हुन्छ । फुली लगाउने बेला दलितको हातबाट फुली लगाउन सकलदर्जा हिच्किचाएको कैयौँ घटना विकले महसुस गरे । रातोपाटीसँग कुरा गर्दै विकले भने, ‘थर परिवर्तन गरेर जिल्लामा जाऊँ कि जस्तो लाग्थ्यो ।’

थर विक नराखेर शाह वा अरू केही लेखेर जाने सोच उनको मनमा नआएको पनि होइन । उनले हजारौँ पल विभेदको गहिराइ मापन गरे । थरकै कारण सङ्घर्ष थप पेचिलो बन्यो तर, उनले सङ्घर्ष छाडेनन् ।

source ~ Ratopati