सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङले आइतबार बिहान आमा बुद्धिमाया घिसिङलाई फोन गर्दै भनिन्,“आमा, मलाई लिन आउनु… आज त मलाई मा!र्ने नै हो भन्छन्।”
फोनको अर्कोपट्टि आमा छोरीको रुवाइ सुन्दै थिइन्,
यहाँ सुशीला मृत्यु नजिकिँदै गरेको थाहा पाउँदै थिइन्।
आमाले सम्झाइन्
“आज एकदिन बस, भोलि बाबुलाई लिन पठाउँछु।”
तर त्यो ‘भोलि’ सुशीलाको जीवनमा कहिल्यै आएन।
उनी यो कुरा आफ्नी बहिनी सन्दी घिसिङ, दाजुभाइ र भाउजू निर्मला स्याङतानलाई पनि पटक पटक सुनाइरहेकी थिइन्।
घरभित्र निरन्तर हिंसा, धम्की र डरको वातावरण रहेको कुरा उनले बारम्बार बताएकी थिइन्।
घटना भएको दिन दिउँसो सुशीलाले विद्यालयबाट आएका आफ्ना तिम्ल्याहा सन्तानलाई घरमा बोलाइन्। खाजा खुवाइन्। माया गरिन् सायद अन्तिम पटक।
छोराछोरीलाई ट्युसन पुर्याएर फर्किँदा उनको मन डरले काँपिरहेको थियो। तर उनी आमा थिइन् डरभन्दा जिम्मेवारी ठूलो थियो।
घर फर्किएपछि जुन घरले सुरक्षा दिनुपर्ने थियो,
त्यही घर उनको चितास्थल बनाइयो।
प्रहरी अनुसन्धान अनुसार भान्साकोठामा पस्नेबित्तिकै नन्द मीना बोम्जनले सुशीलाको शरीरभरि पेट्रोल खन्याइन्।
लाइटर बा’लिन्। र बाहिर निस्केर ढोका चुकुल लगाइन्।
त्यसैबेला सासु मायारानी बोम्जनले माथिल्लो तलाको च्यानल गेटमा ताल्चा लगाइदिइन्।
उद्धारको सबै बाटो बन्द गरियो। सुशीलाको चिच्याहट छिमेकीहरूले सुने। हारगुहार सुनियो। तर ढोका बन्द थियो आगो रोकिएन।
ढोका खोलिँदा सुशीला अब बोल्न सक्ने अवस्थामा थिइनन्।
घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।
घटनास्थलबाट पेट्रोलको गन्ध, रित्तो बोतल र लाइटर फेला परेपछि यो आत्महत्या होइन, निर्मम हत्या भएको पुष्टि भयो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीका अनुसार नन्द मीना बोम्जनले बिहानैदेखि हत्या गर्ने योजना बनाएको, घर नजिकैको पसलबाट पाँच लिटर पेट्रोल किनेर आफैंले आगो लगाएको स्वीकार गरेकी छन्।
उनको बयानमा परिवारका अन्य सदस्यहरूको समेत संलग्नता रहेको उल्लेख छ। सुशीलाका श्रीमान् सूर्य बोम्जन
विगत दुई वर्षदेखि कोरियामा रहेका छन्। प्रहरीका अनुसार
हत्या घटनामा श्रीमानको समेत मानसिक समर्थन रहेको बयानमा उल्लेख गरिएको छ।
सुशीलाले यसअघि पनि लामो समयदेखि घरेलु हिंसा सहँदै आएको माइती पक्षले बताएका छन्।
मृतकका बुवा प्रेमबहादुर घिसिङले सासु मायारानी,
ससुरा दुर्गामान र नन्द मीना बोम्जनविरुद्ध किटानी जाहेरी दिएका छन्।
जाहेरीपछि सासु र नन्द नियन्त्रणमा छन्। ससुरा प्रहरी निगरानीमा उपचाररत छन्।
- तीन जना तिम्ल्याहा सन्तान आज आमाविहीन भएका छन्।

















