दमौली : तनहुँको सदरमुकाम दमौलीमा आगामी पुस २४ गते देखि माघ ५ गते सम्म छैटौं आदिवासी जनजाति सांस्कृतिक महोत्सव गरिने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले दमौली स्थित खुला मैदानमा महोत्सव सञ्चालन गर्न लागेको हो।
लोपोन्मुख आदिवासी जनजातिका भाषा, लिपि, संस्कार र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । महोत्सवबाट बचत हुने रकम व्यास नगरपालिका-१२, कमलबारी स्थित भानु-घाँसीग्राम क्षेत्रमा खुला जीवन्त सांस्कृतिक संग्रहालय निर्माणमा खर्च गरिने महासंघका जिल्ला अध्यक्ष सनम तामाङले जानकारी गराए ।
मौलिक सांस्कृतिक नृत्य-गीत, जातीय पहिचान झल्कने परिकार, हस्तकला, अर्गानिक कृषि उपज तथा स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइने छ । साथै, जिल्ला भित्रका होमस्टे प्रवद्र्धनलाई समेत महोत्सवसँग जोडिने जनाइएको छ । दमौलीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका जिल्ला अध्यक्ष तामाङले महोत्सव मनोरञ्जनमा मात्र सीमित नहुने बताउँदै यसले सांस्कृतिक जागरण, पहिचान स्थापना र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
पत्रकार सम्मेलनमा महासंघका पूर्व अध्यक्ष हरिसिंह गुरुङ लगायत पदाधिकारीहरूले महोत्सवको व्यवस्थापन र पारदर्शिता बारे जानकारी गराएका थिए । आयोजकले संस्कृति संरक्षण र पहिचान प्रवर्द्धनका लागि महोत्सवमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गरेको छ ।


















