काठमाडौँ, १५ माघ । राष्ट्रिय सूचना आयोगले २१ फागुनको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सूचना प्रवाहमा जिम्मेवार बन्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ ।
आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निर्वाचनका क्रममा फैलिने भ्रामक, गलत तथा नियोजित सूचनाले लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्ने भन्दै सूचना प्रवाहलाई सत्य, तथ्य र यथार्थमा आधारित बनाउन सरोकारवाला सबै पक्षलाई दिर्नेशन दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता एवं सूचना आयुक्त गगन विष्टले सरोकारवालाले सार्वजनिक गर्ने निर्वाचनसम्बन्धी सूचना समयमै, सबैले बुझ्ने गरी सार्वजनिक गर्न सरकारलाई निर्देशन दिए ।
उनले गलत र भ्रामक सूचनामाथि निगरानी तथा नियमन गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइराख्न समेत सरकारलाई सचेत गराए । उनले निर्वाचन आयोगलाई मतदाता शिक्षा थप प्रभावकारी बनाउन, बहुभाषिक माध्यममार्फत सूचना प्रवाह गर्न तथा निर्वाचनसम्बन्धी ऐन, कानून, निर्देशिका र आचारसंहिता समयमै सार्वजनिक गर्न निर्देशन दिए ।
उनले राजनीतिक दल र उम्मेदवारलाई आफ्नो उम्मेदवारबारे तथ्यमा आधारित सूचना मात्र प्रवाह गर्न, गालीगलौज, दुष्प्रचार, मिथ्या तथा भ्रामक सूचनाको प्रयोग नगर्न निर्देशन दिए ।
उनले सम्बन्धित दलको निर्वाचनसम्बन्धी सूचना प्रवाह गर्न सूचना अधिकारी तोक्न समेत निर्देशन दिए। उनले सञ्चारमाध्यमलाई निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्दा निष्पक्षता, सन्तुलन र समान पहुँचको सिद्धान्त पालना गर्न दिर्नेशन दिए ।
उनले कुनै दल वा उम्मेदवारको प्रचार सामग्रीलाई समाचारका रुपमा प्रकाशन तथा प्रशारण नगर्न समेत सचेत गराए। उनले कुनैपनि उम्मेदवारको सशुल्क प्रचार प्रसार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, सर्वसाधारण नागरिकलाई सामाजिक सञ्जाल वा अन्य माध्यममा सूचना सेयर गर्नुअघि त्यसको स्रोत आधिकारिक र विश्वसनीय भएको यकिन गर्न, भ्रामक सूचना देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत उनले आग्रह गरे ।


















