एक महिनामै फुट्यो छ कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा
सन्दर्भ टुडे
२०८२ माघ २४ शनिवार १७:१६
1
shares
काठमाडौँ, २४ माघ । छ कम्युनिस्ट पार्टी मिलेर बनेको मोर्चा महिना दिनमै फुटेको छ।
सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), विश्वभक्त दुलाल (आहुति) नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, महिन्द्र मल्ल नेतृत्व नेकपा (जनपक्ष), ऋषिराम कट्टेल नेतृत्वको नेकपा, पूर्णबहादुर सिंह समरजंग नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टीले गएको पुस २५ गते निर्वाचन बहिष्कार गर्दै संयुक्त मोर्चा बनाएर आन्दोलन घोषणा गरेका थिए।
आन्दोलन घोषणा गरेको महिना दिनमै संयुक्त मोर्चा फुटेको हो। संयुक्त मोर्चाबाट मल्ल नेतृत्वको नेकपा जनपक्ष बाहिरिएको छ। शनिबार विज्ञप्ति जारी गर्दै जनपक्षका प्रवक्ता दिनेश बर्तौलाले संयुक्त मोर्चाको सामान्य नियम विरीत गतिविधि भएको भन्दै आफूहरू बाहिरिएको जानकारी गराएका छन्।
यस्तो छ विज्ञप्तिप्रेस विज्ञप्ति१) क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा सम्मिलित ५ दलिय संयुक्त मोर्चाबाट हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (जनपक्ष) आजका मितिबाट अलग भएको जानकारी गराउन चाहन्छौं ।२) नेकपा (जनपक्ष) र ५ पार्टी बिचमा यस अगाडि भएको सर्वसम्मत समझदारी विपरीत, जेन जी जन विद्रोह बारेको साझा मुल्यांकन विपरीत, संयुक्त मोर्चाको सामान्य नियम विपरीत क्रान्तिकारी कम्युनिस्ट पार्टीले संयुक्त पर्चा छापेर बहुमत पार्टीहरुको निर्णय भन्दै बलमिच्याई गरेर संयुक्त मोर्चामा फुट पैदा गरेको छ । यसमा हाम्रो पार्टी विरोध प्रकट गर्दछ ।३) अहिलेको विशिष्ट परिस्थतिमा संघर्षका सबै कार्यक्रमहरु शान्तिपूर्ण हुनेछ भनी प्रमुख नेताहरु सहितको बैठकमा सर्वसम्मत निर्णय भएकोमा संयुक्त पर्चा प्रकाशन गर्दा संघर्षको स्वरूपलाई शान्तिपूर्ण हुनेछ भन्ने स्पष्ट गरिएन ।४) नेकपा (बहुमत) ले संयुक्त मोर्चाको बैठकमा नेपाल बन्दको कार्यक्रम राख्ने प्रस्ताव गरेको थियो । तर हाम्रो पार्टीले अहिलेको परिस्थितिमा बन्द जस्ता कार्यक्रम राख्नु सही र वस्तुवादी नहुने मत राखेको थियो । नेकपा (बहुमत) ले आह्वान गरेको नेपाल बन्द कार्यक्रम प्रति हाम्रो पार्टीको समर्थन नरहेको जानकारी गराउँदछौं ।५) विश्व कम्युनिस्ट आन्दोलनमा र नेपाली कम्युनिस्ट आन्दोलनमा संसदीय चुनावबाटै प्रतिक्रियावादी सत्ताको सरकारमा जाने र आफ्नो वर्ग परिवर्तन गरी दलाल तथा नोकरशाही पूँजीपति वर्गमा वर्ग पतन हुने संसदवादी महारोग व्याप्त छ । यसका विरुद्ध नेपाली जनताले जेनजी जनविद्रोहमा नयाँ सांस्कृतिक क्रान्तिको शंखघोष गरेका छन, यसलाई हाम्रो पार्टी नेकपा (जनपक्ष) ले हार्दिक समर्थन गरेको छ । यस्तो जनविद्रोहलाई जनताको विद्रोहको रुपमा समर्थन गर्न नसक्नु क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (बहुमत) नेतृत्वको दक्षिणपन्थी अवसरवाद उन्मुख प्रवृतिको परिणाम हो ।६) क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (बहुमत) नेतृत्वको संसदीय चुनावलाई ठोस परिस्थिति अनुसार विश्लेषण गर्ने विषयमा यान्त्रिक, जडसूत्रवादी तथा रुपमा उग्रवामपन्थी र दक्षिणपन्थी सार बोकेको गैर मार्क्सवादी दृष्टिकोण रही आएकोछ । उक्त पार्टीहरुको नेतृत्वमा अहिलेको चुनावलाई ‘सशक्त बहिष्कार गर्ने’, ‘चुनावै हुन नदिने गरी जुझारु आन्दोलन गर्ने’ आदि जस्ता जुन चिन्तनहरू रहेको छ, यसको साइनो लेनिनवादी चुनावी कार्यनीति सँग कतैपनि मेल खाँदैन । जुझारु जन आन्दोलन गर्न पर्ने वस्तुगत परिस्थितिमा निदाए झैं गरेर बस्ने, जनताले गरेको जनविद्रोहलाई विदेशी प्रायोजनमा घुसपैठीयाले गरेको भन्दै विरोध गर्ने क्रा. क. पा. र नेकपा (बहुमत) को नेतृत्वले क्रान्तिकारी उभार सेलाएको बेलामा ‘चुनावै हुन नदिने गरी जुझारु आन्दोलन गर्ने’ नीति योजना घोषणा गर्नु भनेको रुपमा उग्रवामपन्थी र सारमा दक्षिणपन्थी प्रवृति कै परिणाम हो भन्ने हाम्रो पार्टीको निष्कर्ष रहेको छ ।हामी उक्त पार्टीहरुका इमान्दार क्रान्तिकारी नेता कार्यकर्ताहरुमा नेतृत्वको गैर मार्क्सवादी चिन्तनप्रति सतर्क रहँदै निरन्तर संघर्ष जारी राख्न हार्दिक अपिल गर्दछौं ।७) नेकपा (जनपक्ष) शान्तिपूर्ण रुपमा चुनावमा भागलिने वा शान्तिपूर्ण रुपमा बहिष्कार गर्ने (मतदानमा भाग नलिने) जनताको लोकतान्त्रिक अधिकारको पूर्ण सम्मान गर्दछ ।८) अहिले राज्यले विदेशमा रहेका ५० औं लाख नेपाली विद्यार्थी, श्रमिक र अन्य पेशामा रहेका नेपाली नागरिकलाई अहिलेको चुनावमा मतदान गर्न पाउनु पर्ने संवैधानिक अधिकारबाट बन्चित गरेको छ । हामी सरकारलाई आग्रह गर्दछौं की विदेशमा रहेका नेपाली नागरिकको नोट चल्ने तर भोट नचल्ने तानाशाही प्रथाको अन्त्य गरी तत्काल उनीहरुको मताधिकार सुनिश्चित गरियोस ।९) हाम्रो पार्टी नेकपा (जनपक्ष) नयाँ जनपक्षीय राष्ट्रिय सहमति, नयाँ जनपक्षीय संयुक्त सरकार र नयाँ जनपक्षीय प्रतिनिधिसभाको निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट गर्न चाहन्छौं । देश र जनताका समस्या समाधान दलाल पूँजीवादी व्यवस्थाबाट हुन नसक्ने हुनाले जनपक्षीय नयाँ समाजवादी व्यवस्थाको स्थापना नेपालको लागि अनिवार्य भएको यथार्थ पनि आम नेपाली जनता माझ हार्दिकतासाथ अपिल गर्न चाहन्छौं ।१०) अहिलेको विशिष्ट चुनावी परिस्थितिलाई हाम्रो पार्टीले बाह्य रुपमा घरेलु प्रतिक्रियावाद, साम्राज्यवाद र सबैखाले अवसरवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै नयाँ जनपक्षीय सरकार र जनपक्षीय नयाँ समाजवादी व्यवस्थाको अनिवार्यताको प्रचारात्मक अभियानका रुपमा सदुपयोग गर्ने र आन्तरिक रुपमा संगठन शुद्धीकरण, सुदृढीकरण तथा विस्तार अभियानका रुपमा लैजाने निर्णय गरेको छ । हाम्रो पार्टीका सबै कार्यक्रमहरू पूर्णरुपमा शान्तिपूर्ण आमूल परिवर्तनको स्वरुपमा हुनेछन ।क्रान्तिकारी अभिवादन सहितदिनेश बर्तौलाप्रवक्ता२०८२ माघ २४