काठमाडौँ, २५ माघ । बलात्कृत युवतीलाई आर्थिक प्रलोभनमा बयान फेर्न लगाई जेलबाट छुटेका नेपाल प्रहरीका पूर्वजवान भूपेन्द्रसिंह ठगुन्नाले उनै युवतीलाई फेरि बलात्कार गरेका छन् । युवतीको अहिले आठ महिनाको गर्भ छ । दार्चुलाको नौगाड गाउँपालिका– २, सुन्डमुन्डका २६ वर्षीय ठगुन्नालाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरेर ल्याएको छ ।
प्रहरीका अनुसार ठगुन्नाले गत जेठमा सुर्खेतको वीरेन्द्रनगरमा जाजरकोटकी २५ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेका थिए । त्यसअघि उनै युवतीमाथि जबर्जस्ती करणी गरेको अभियोगमा १ वैशाखमा पक्राउ परेर पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, युवतीलाई बयान फेर्न लगाएर दुई लाख ५० हजार क्षतिपूर्ति भुक्तानीपछि ठगुन्ना जेलबाट निस्किएका थिए । त्यसपछि उनले फेरि उनै युवतीलाई बलात्कार गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधीरराज शाहीले जबर्जस्ती करणी मुद्दामा नेपाल प्रहरीको पूर्वजवान पक्राउ परेको बताए । उनले भने, ‘युवतीलाई करणी गरेको अभियोगमा नेपाल प्रहरीका पूर्वजवान पक्राउ परेका छन् । मिलापत्र भइसकेपछि युवतीलाई पटक–पटक जबर्जस्ती करणी गरेको देखिन्छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गरेका छौँ ।’ प्रहरीका अनुसार युवती अहिले आठ महिनाकी गर्भवती छिन् । प्रहरी जवान ठगुन्ना घटनापछि सेवाबाट अलग भएका थिए । एकाएक फरार रहेका उनलाई प्रहरीले खोजी गरिरहेको थियो । उनी भारतको मुम्बई रहेको सूचनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो । सोही क्रममा उनलाई पक्राउ गरेर ल्याएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबर्जस्ती करणीमा संलग्न नेपाल प्रहरीका पूर्वजवान पक्राउ परेको बताए । ‘युवती बलात्कार गरेको अभियोगमा ठगुन्नाविरुद्ध जिल्ला अदालत सुर्खेतबाट पक्राउ पुर्जी जारी भएको थियो । सोही आधारमा प्रहरी खोजीमा थियो । उनलाई पक्राउ गरेका छौँ । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ । उनी नेपाल प्रहरीको पूर्वजवान रहेको जानकारीमा आएको छ,’ उनले भने ।
प्रहरीका अनुसार जबर्जस्ती बयान फेर्न लगाएर जेलबाट निस्केका ठगुन्नाले फेरि बलात्कार गरेपछि युवतीले गत साउनमा जिप्रका सुर्खेतमा जाहेरी दिएकी थिइन् । जेलबाट निस्केलगत्तै ठगुन्ना सेवामा जोडिएका थिए । पछिल्लोपटक उनलाई सर्वोच्च अदालतमा सरुवा गरिएको थियो । त्यहाँबाट पनि ताप्लेजुङ सरुवा भएपछि उनी कार्यालय जान छाडेका थिए । त्यसलगत्तै प्रहरीले उनलाई सेवाबाट बर्खास्त गरेको थियो । उता जिप्रका सुर्खेतमा उनीविरुद्ध जबर्जस्ती करणी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी मुम्बई पुगेका थिए । युवती भने न्याय माग्दै काठमाडौं आएकी थिइन् ।


















