काठमाडौँ, २७ माघ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुन २१ गते टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। पछिल्लो समय युवामाझ लोकप्रिय बन्दै गएको सामाजिक सञ्जाल टिकटकलाई माध्यम बनाएर निर्वाचन प्रक्रिया, आचारसंहिता र मतदाता शिक्षाबारे सन्देश प्रवाह गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार प्रतियोगितामा सहभागी भएका टिकटक भिडियामध्ये उत्कृष्ट ठहरिएका तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ। जसअन्तर्गत प्रथम हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।
प्रतियोगिताका लागि तयार गरिने भिडियोमा निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षा सम्बन्धी विषयवस्तु अनिवार्य रूपमा समावेश हुनुपर्नेछ। भिडियो सामग्रीले मतदातालाई सचेत बनाउने, लोकतान्त्रिक अभ्यासप्रति आकर्षित गर्ने तथा निष्पक्ष, स्वतन्त्र र मर्यादित निर्वाचनको महत्व उजागर गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेले आफ्नो टिकटक भिडियो तयार गरी त्यसको लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र निर्वाचन आयोगको आधिकारिक इमेलमा पठाउनुपर्नेछ। तोकिएको समयसीमाभित्र प्राप्त भएका भिडियोलाई मात्र मूल्यांकनका लागि समावेश गरिने आयोगले स्पष्ट पारेको छ।
निर्वाचन आयोगले डिजिटल प्रविधि र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगमार्फत विशेषगरी युवा मतदातालाई निर्वाचन प्रक्रियासँग जोड्ने उद्देश्यले यस किसिमका सिर्जनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। टिकटक भिडियो प्रतियोगिताले निर्वाचनप्रतिको चासो बढाउनुका साथै मतदाता शिक्षामा सकारात्मक योगदान पुग्ने आयोगको विश्वास छ।
आयोगले इच्छुक सबैलाई प्रतियोगितामा सक्रिय सहभागिता जनाउन आह्वान गर्दै निर्वाचनलाई मर्यादित, पारदर्शी र सहभागितामूलक बनाउन सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरेको छ।


















