सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन– चुनावी सुरक्षामा कुनै पनि चुक नहोस्

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको निर्वाचनलाई सुरक्षित, निष्पक्ष र त्रुटिरहित रूपमा सम्पन्न गर्न नेपाली सेनालाई उच्च सतर्कताका साथ अघि बढ्न निर्देशन दिएकी छिन्।

आइतबार जंगी अड्डामा सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनका अनुभवबाट पाठ सिक्दै स्पष्ट कार्ययोजनासहित सुरक्षा व्यवस्थापनमा जुट्न सेनालाई आग्रह गरिन्।

फागुन २१ गते तोकिएको निर्वाचनलाई मध्यनजर गर्दै उनले सुरक्षा संवेदनशीलताको विश्लेषणका आधारमा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताइन्। साथै, सरकारबाट स्वीकृत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सेनालाई तोकिएका जिम्मेवारीहरू उत्कृष्ट ढंगले सम्पन्न हुनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण तथा सहयोग गर्न र सबै राजनीतिक दलका गतिविधिहरू विनाअवरोध सञ्चालन हुने वातावरण निर्माण गर्न अन्य सुरक्षा निकायसँग घनिष्ठ सहकार्य आवश्यक रहेको स्पष्ट पारिन्।

‘विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा देखिएका कमजोरी र रिक्तता अब दोहोरिन दिनुहुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘चुनावी सुरक्षामा कति पनि चुक हुन नदिन सबै निकाय सतर्क रहनुपर्छ।’

उनले सबै सुरक्षा निकायबिच प्रभावकारी समन्वय कायम गर्दै त्रुटिरहित रूपमा जिम्मेवारी पूरा गर्न निर्देशन दिइन्।