बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले सन् २०२४ को घातक विद्रोहपछि भएको पहिलो निर्वाचनमा शुक्रबार भारी जित हासिल गरेको छ र नेता तारिक रहमान प्रधानमन्त्री बन्ने करिब निश्चित भएको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार बीएनपी गठबन्धनले संसद्का कुल ३०० सीट सङ्ख्याको २१२ सिट जितेको छ भने इस्लामवादी नेतृत्वको जमात–ए–इस्लामी गठबन्धनले ७७ सिट जितेको छ । बङ्गलादेशको संसद्को कुल ३५० सीटमध्ये ५० सीट महिला प्रपितनिधित्वका लागि आरक्षित गरिएको छ ।
मतदानको दुई दिनअघि रहमानले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे निरङ्कुश शासनकालमा पराजित भएको आफ्नो पार्टीले १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्रमा पुनः सत्ता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको थियो । सन् २०२४ मा शेख हसिनालाई अपदस्थ गर्ने सामूहिक प्रदर्शनपछि १७ वर्षभन्दा बढी समय लन्डनको स्व–निर्वासनपछि रहमान गत डिसेम्बरमा बङ्गलादेश फर्किनुभएको थियो । बीएनपीका प्रधानमन्त्रीका उम्मेदवार तारिक रहमान शुक्रबार पार्टीले ‘निर्णायक विजय’ पाएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएपछि देशको नयाँ नेता बन्ने निश्चित भएको छ।
बिहीबारको मतदानमा जाँदै रहमानले एक्लै शासन गर्न पर्याप्त बलियो जनादेश पाउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँको सपना साकार भएको छ । उहाँले बढ्दो अधिनायकवादी शासनपछि लोकतान्त्रिक सरकारअन्तर्गत शान्ति र स्थिरता पुनस्र्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। रहमानले ऐतिहासिक मतदानअघि मतदातालाई मतदानमा सहभागी हुन प्रोत्साहन गर्दै भन्नुभएको थियो, “मलाई विश्वास छ, बङ्गलादेशका जनता भोट हाल्न बाहिर आए भने षड्यन्त्र सफल हुँदैन । नयाँ लोकतन्त्रको सुरुवातका लागि सबैलाई मेरो शुभकामना छ।” रहमान पूर्वप्रधानमन्त्री स्वर्गीय खालिदा जिया र पूर्व राष्ट्रपति स्वर्गीय जियाउर रहमानका जेठा छोरा हुनुहुन्छ ।
जियाउर रहमानको सन् १९८१ मा सैनिक विद्रोहका क्रममा हत्या गरिएको थियो । खालिदा जियाले पतिको मृत्युपछि राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ सन् १९९१ मा पहिलो पटक बङ्गलादेशको राजनीतिक नेतृत्व लिँदै सत्ताको बागडोर सम्हाल्न सफल हुनुभएको थियो ।
रहमान सन् २०१८ मा आफ्नी आमा खालिदा जिया जेलमा परेपछि बीएनपीको कार्यवाहक अध्यक्षको रूपमा काम गर्दै आउनुभएको छ । रहमान सन् २००८ मा उपचारका लागि लन्डन जानुभएको थियो तर स्वदेशमा उहाँको अनुपस्थिति मा नै उहाँमाथि धेरै मुद्दाहरूमा दोषी भएको आरोपसहित मुद्दा चलाइएको थियो । शेख हसिनाको हत्याको षड्यन्त्रसँग जोडिएको मुद्दामा उहाँलाई अनुपस्थितिमा दोषी करार गरिएको थियो । २०२४ मा हसिनालाई सत्ताबाट हटाइएपछि ती निर्णयहरू उल्ट्याइएको थियो, जसले उहाँको फिर्तीमा कानुनी अवरोधहरू हटाएको थियो ।


















